काठमाडौं उपत्यकामा भारी वर्षा, बागमती नदीले खतराको तह पार गर्‍यो

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ।

यसैगरी बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही कारण नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।