मल्ल के सुन्दरको नयाँ उपन्यास कुमारी सार्वजनिक हुँदै

काठमाण्डाै – इन्द्रजात्राको अवसरमा चर्चित व्यक्तित्व तथा साहित्यकार मल्ल के सुन्दरको कुमारी नामक नयाँ उपन्यास प्रकाशित हुन लागेको छ।

उपन्यासमा बनेपाका अष्टमात्रिकामध्येकी जेठी अष्टमात्रिकाकी छोरी मय्जुलानी र चन्डाशुर दैत्यको प्रेमकथा, मय्जुलानीले देश रक्षाको लागि गरेको त्याग र कसरी उनी कुमारी हुन पुगिन  भन्ने विषयवस्तु समेटिएको उपन्यासकार मल्लले बताउनु भयो।

कुमारीको ऐतिहासिक मिथमा आधारीत यो उपन्यास उहाँको ६ औं उपन्यास हो। करीब ३० वटा कृति लेखिसक्नु भएका उहाँका यसभन्दा अघि नसना, नेपालसंवतया प्रवर्तक शंखधर साख्वाः, द पोष्टर, सेप्टेम्बर १७ र व लँपु थ्व पलाः  नेपालभाषामा र  विमुक्ति नेपालीमा प्रकाशित भइसकेका छन् ।

नयाँ कृति कुमारीको लोकार्पण इन्द्रजात्राका दिन असोज ११ गते जनकवि दुर्गालाल श्रेष्ठको विशेष उपस्थितिमा पाँच जना पूर्व कुमारीबाट हुनेछ भने यसको प्रकाशन निरञ्जन रत्न शाक्य, सत्यनारायण डंगोल, मचाराजा महर्जनको आर्थिक सहयोगमा एड जोन प्रा.लिले गरेको छ।