वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालले आज सोमवार आयोजना गरेको  ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’ मा उहाँलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणमणि हार्तम्छालीले प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञले अन्यथा नलिन र रचनात्मक रूपमा मात्रै लिन अनुरोध छ ।’

कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतिलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको भनि दुःखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कार्टुनिस्ट पेसा लोपोन्मुख हुन थालिसक्यो, यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।’

बाह्रखरी डट कम अनलाइनका कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टहरूले आफ्नो परिचय नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइँदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टीकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेर मात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ ।’