काठमाण्डाै – सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ ।
नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ।
कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन्। जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन्। फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।
आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् ।
