जनगायक रामकृष्ण दुवालको रचना तथा संगीतमा निर्माण भएको नेपाल भाषाको म्युजिक भिडियो “ जिगु देय् जित यः ” सार्वजनिक भएको छ। दर्शनवीर शाक्यको निर्देशनमा रानी शोभा महर्जनको स्वरमा रहेको उक्त म्युजिक भिडियो गएको सोमबार एक कार्यक्रमविच सार्वजनिक गरिएको हो।
ईलोहं प्रकाशनले आयोजना गरेको उक्त कार्यक्रममा जनगायक दुवालको पेजथ्री विशेषांक, स्केच कलाकार अर्पिता शाक्यले बनाउनु भएको स्केच पोष्टर पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा सांसद शैलेन्दमान बज्राचार्यले सम्मानपत्रसहित जनगायक दुवाललाई सम्मान गर्नु भएको छ। सम्मानित व्यक्तित्वलाई कीर्तिपुरका निवर्तमान नगरप्रमुख रमेश महर्जनले दोसल्ला, वडा नम्बर ८ का वडाध्यक्ष सानुमैंया महर्जनले खादां ओढाउनु भएको थियो भने ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो। त्यस्तै स्केच कलाकार अर्पिता शाक्यले स्केच पोष्टर प्रदान गर्नु भएको थियो ।
रानीशोभा महर्जनको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियोमा हिसिला महर्जन (राजामति) र किशोर चिपालुले खेल्नु भएको छ । संगीत संयोजन जीवित जल्मिको रहेको छ ।
नेपालभाषामा जातजाति ,मातृ भाषा र राष्ट्र भावका नयाँ गीतको भिजुयल निर्माण हुने गरेता पनि पुराना पुराना गीतहरुको भिजुयल निर्माण नभइरहेको समयमा ‘जिगु देय् जितः यः’ गीतको म्यूजिक भिडियो निर्माण भएको छ। उपत्यकाका विभिन्न नगरपालिकाले स्थानिय पाठ्यक्रम अध्यापन गराईरहेको वर्तमान समयमा बालबालिकामा सकारात्मक मानसिक विकासको लागि यस्तो खालको गीतको आवश्यकता छ ।
