अमेरिकाको नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा कार्यक्रम आयोजना गरेर नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई जना श्रष्टालाई सम्मानार्थ संरक्षक पदले सम्मान गर्दै प्रत्येक आमाबाबुले आफ्ना छोराछोरीसँग आफ्नै मातृ भाषा बोल्न अनुरोध गर्नुभयो ।
नेपा: पासा पुचः अमेरिकाका अध्यक्ष मनोहर श्रेष्ठले आफ्नो संस्था करिब ३२ वर्ष अघि अमेरिकामा स्थापना भएको पहिलो संस्था भएको भन्दै दुई जना श्रष्टालाई संरक्षकका रूपमा राख्नुको उद्धेश्यकाबारेमा जानकारी दिनुभयो । पासा पुचः अमेरिकाले प्रकाशन गर्दै आएको ‘दबू’ मा नेपालभाषा साहित्य संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व र खाद्यान्नका बारेमा फरक–फरक विशेषाङ्क प्रकाशित हुने भएकाले छुट्टै विशेषता रहेको नेपालभाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले बताउनुभयो ।
उहाँले सम्मानित व्यक्तित्वद्वय श्रेष्ठ र जकःमि क्रान्तिकारी कवि मात्र नभएर २०२२ सालदेखि शुरू भाषिक सडक आन्दोलनका क्रान्तिकारी योद्धा पनि भएकाले उहाँहरू सम्मानयोग्य व्यक्ति भएको बताउनुभयो । जनकवि श्रेष्ठले ‘अमेरिकामा पहिलो पटक पुग्ने नेवार संस्थाका संस्थापक सदस्य रामवीर मालाकार भएको बताउनुभयो भने अर्का सम्मानित कवि जकःमिले १४ वर्षको उमेरदेखि ईश्वरानन्दको प्रेरणाले साहित्यमा कलम चलाउँदै आएको बताउनुभयो ।
