ललितपुर – अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी भएको छ। ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टरमा शनिबार भएको चित्रकला प्रदर्शनीमा २८ महिनाको उमेरदेखि अटिजमको समस्या देखिएका कृतले बनाएका विभिन्न चित्रकला प्रदर्शन गरिएको थियो ।
अटिजम रोग नभएर मस्तिष्कको विशेष अवस्था हो। अटिजम भएका व्यक्तिमा सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्न कठीन हुने लगायतका समस्याहरु देखिन्छ । अटिजम भएका बालबालिकामा भएका क्षमता र प्रतिभालाई समयमा नै पहिचान गरेर उनीहरूलाई त्यहि अनुरूप वातावरण दिन सके उनीहरूको फरक क्षमता, प्रतिभा प्रस्फुटन हुन सक्छ भने सन्देश कृतको कलाप्रदर्शनीले दिएको छ।
कलाप्रदर्शनीबाट संकलन भएको रकम अटिजम केयर नेपाल सोसाइटीलाई सहयोगस्वरूप प्रदान गरिनेछ।





