भक्तपुरको बिस्काः जात्रामा आज यसिं ठड्याइँदै

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको चौथो दिन आज यसिं ठड्याएर जात्रा मनाइँदैछ । बिस्काः  जात्राको क्रममा भक्तपुरमा हात भएको र हात नभएको गरेर दुई वटा यःसिं ठड्याउने चलन छ ।

आज बिहान तालाक्वमा रहेको कुमाले टोलमा हात नभएको यःसिं  ठड्याइएको छ भने भेलुखेलमा रहेको यसीँख्यःमा ५५ हात लामो हात भएको यसिं आज दिउँसो ४ बजे ठड्याउनको लागि तयारी भएको छ । भेलुखेलमा हात भएको यःसिं ठड्याउनु अघि बिहान कुमाले टोलमा हात नभएको यःसिं ठड्याउने परम्परा छ । कुमाले टोलमा ठड्याइने यःसिंलाई राज्यको विरोधस्वरुप ठड्याएको यःसिंका रुपमा लिइन्छ । तत्कालीन मल्ल कालमा राज्य र स्थानीय प्रजापति समुदायबीच केही मनमुटाव भएपछि राज्यद्वारा ठड्याइने यसिख्यःको यःसिं भन्दा पहिला नै कुमाले टोलमा स्थानीयद्वारा यःसिं ठड्याउने चलनको थालनी गरेको जनश्रुति छ ।

यःसिंलाई भैरवनाथ र भद्रकालीको प्रतीकको रुपमा लिइन्छ ।

जंगलबाट ल्याइएको काठलाई जन्म मृत्युसम्बन्धी दशकर्म गरेर काठलाई यःसिंको रुपमा परिणत गर्ने प्रचलन रहेको संस्कृतीकर्मी ओमप्रसाद धौभडेलले बताउनु भयो ।

भैरवनाथको प्रतीक मानिने यःसिंको शीर्ष भाग र हातहरू निलो कपडाले बेरिएका हुन्छन् भने कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ। यःसिं उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। यःसिं ठड्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुनु पर्ने परम्परा छ ।

यःसिं ठड्याउनु अघि भैरवनाथ र भद्रकालीको रथलाई गः हिटीबाट तानेर भेलुखेलस्थित यसिंख्यः पु¥याउने परम्परा छ । यसको लागि जात्राको पहिलो दिन तान्ने क्रममा बिग्रिएको रथलाई मर्मत गरिएको छ ।

यःसिं ठड्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।   हात  भएको यःसिं बैशाख १ गते भोलि ढालिन्छ भने हात नभएको यःसिं बैशाख ५ गतेका दिन  ढाल्ने गरिन्छ । योसँगै नौदिन आठ रात लामो बिस्काःजात्रा सम्पन्न हुने परम्परा छ।