ललितपुर – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आजराति १२ बजेदेखि हिउँदे अधिवेशनको अन्त्य हुँदैछ।
गएको माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयकमात्र पारित गरेको छ । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।
अस्ति संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारले निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको थियो ।
