भक्तपुरमा ५५ हात लामो यःसिं ढालियो

ललितपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको प्रमुख मानिने यःसिं हिजो शनिबार बेलुका ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी हिजो बेलुका लिङ्गो ढालिएको हो । भेलुखेलमा रहेको यःसिंखेलमा उठाइएको ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो यःसिं तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो।

यःसिं ठड्याउनु अघि यसको कोखा अर्थात टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर ठड्याइने चलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर यःसिं ढालिन्छ ।

भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको यःसिं जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

यःसिं उभ्याइने र ढाल्ने जात्रा नै बिस्काःको प्रमुख जात्रा हो ।

मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

यःसिं ढालेपछि यःसिंखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्य ल्वाकिगु भनिन्छ ।