कतारका राजा थानी आज नेपाल आउँदै

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ ।

अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुहुने भएको छ । साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ । आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।