ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरि जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। अत्याधुनिक शौचालय निर्माणको क्षेत्रमा आफ्नो पहिचान बनाएको एरोसान सस्टेनेवल स्यानिटेशनले ललितपुर महानगरपालिका सँग सहकार्य गरी वातावरणमैत्री, महिलामैत्री शौचालयको निर्माण गरिएको हो ।
यो सँगै ललितपुर महानगरपालिका भित्र 3 वटा र काठमाडौ महानगरपालिका भित्र ६ वटा गरि जम्मा ९ वटा अत्याधुनिक शौचालय सञ्चालनमा आएको छ । एरोसानले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।
उक्त शौचालय उद्दघाटनमा बोल्दै एरोशानका सलाहाकर सोनी श्रेष्ठले शौचालय निर्माणमा गर्दा त्यहाँ प्रयोग हुने संरचनालाई ध्यान दिइएको र शौचालय सफा र व्यवस्थित गर्न प्रयोगकर्ताको महत्वपूर्ण भूमिका हुनेमा उनको जोड थियो। साथै अमात्यले ललितपुर महानगरपालिकाकै कारण एरोसानले सार्वजनिक शौचालय निर्माणमा ख्याति कमाएको र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको सहयोग बाट यो शौचालय निर्माण सम्भब भएकोले महानगरप्रमुख महर्जनलाई धन्यवाद दिदै बनिसकेको र अब बन्ने शौचालयको सरसफाइ र व्यवस्थापनलाई चुस्त राख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।
जावलाखेलमा निर्माण भएको अत्याधुनिक सार्वजनिक शौचालयमा महिलामैत्री, अपाङ्गमैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री तथा वातावरण मैत्रीलाई ध्यान दिएर शौचालयमा महिलाहरुका लागि ३ वटा शौच गर्ने, पुरुषका लागि ५ वटा युरिनल र २ वटा शौच गर्ने,अपाङ्गता भएकाहरुका लागि १ वटा शौच कक्ष तथा महिला पुरुषहरुका लागि १/१ वटा स्नान कक्ष पनि निर्माण भएको छ।
शौचालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरीबाबु महर्जनले शौचालय भन्नेबित्तिकै फोहोर हुन्छ भन्ने धारणलाई ललितपुर महानगरपालिले चिरेको साथै शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरु निमार्ण भएको छ। यस अगि आफू बंगलादेश पुग्दा त्यहाँको भन्दा आफ्नै ठाउँको शौचालयहरू सफा र राम्रो लागेको अनुभव पनि सुनाए। ललितपुर महानगरले शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ। वडा नं.८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ।
सार्वजनिक शौचालयको क्षेत्रमा स्व. प्रकाशचन्द्र अमात्यले आफ्नो जीवनकालमा वास क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ वास क्षेत्रमै जीवन समर्पण गर्नु भएको थियो उक्त मार्ग निर्देशनलाई पछयाउदै एरोशानले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा मुलुकका विभिन्न स्थानहरुमा थप सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने काम निरन्तरता दिईने संस्थाका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले बताउनुभयो ।

