काठमाडौँ– आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आह्वान गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।
