जावलाखेलमा सेन्सर प्रविधिसहितको जरुंहिटी पुनःस्थापना

ललितपुर- ललितपुरको जावलाखेलमा सेन्सर प्रबिधि जडान गरिएको जरुंहिटी पुन:स्थापना गरिएको छ । श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डीमा अवस्थित करीब ४०० बर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक जरुंहिटी (जलद्रोणी)को पुर्नस्थापना गरिएको हो ।

पहिला पहिला बटुवाहरुको लागि पिउने पानीको व्यवस्था गर्न तथा मन्दिरहरुमा जल अर्पण गर्नका लागि विशेष गरेर नेवाः बस्तीहरुमा यस्ता जरुंहिती (जलद्रोणी)हरु बनाइन्थ्यो। लिच्छविकाल हुदै मल्लकालतिर बनाइएका यस्ता जरुंहितीहरु एक प्रकारको परम्परागत ट्याङकी नै हो । सडक विस्तारका कारण विगत लामो समयदेखि पुरिएको अवस्थामा रहेको उक्त जरुंहितीलाई ललितपुर महानगरपालिका, वडा नम्बर ४ ले ताम्राकार समाजको सहयोगमा पुनःस्थापना गरेको हो।

पुर्नस्थापित जरुंहिटीको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक सम्पदाको पुनःनिर्माणका साथै संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने बताउनु भयो । 

ताम्रकार वर्गको कुल देवताश्री उग्रचण्डी माई नजिकको उग्रचण्डी मोसिंख्यःमा ताम्राकार पुर्खाले इनारका साथै उक्त जरुंहितीको निर्माण गराएको ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले बताउनु भयो। अध्यक्ष ताम्राकारले साधारणतया जरुंहितीमा एउटा मात्र धारा हुने गरेको छ तर उक्त जरुंहितीमा तीनवटा धारा रहेकोले विशेष महत्वको भएको बताउनु भयो ।

उक्त परम्परागत जरुंहितीबाट आधुनिक प्रविधिबाट पिउन योग्य बनाइदिएको र सेन्सर प्रवधि समेत जडान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले बताउनु भयो । 

वडा नम्बर ४ को वडा कार्यालयबाट आयोजित कार्यक्रममा जावलाखेलमै निर्माण गरिएको टाइगर गेटका साथै वडाको वेवसाइट,मोवाइलएप ,वडा प्रोफाइलको पनि उद्घाटन गरीएको थियो ।