आज बाघभैरवको जात्रा

काठमाण्डौ – किर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर किर्तीपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ ।

जात्रा वि स २०१३ सालदेखि शुरु भएको हो। यसै विच यसवर्षको जात्राको लागि बाघ भैरवको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । बाघ भैरव मन्दिरको मुल द्वार अगाडिको गुन्थ सत्तलमा ३२१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भैसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति हिजो प्रतिस्थापन गरिएको हो।

मूर्तिकला जगतमा प्रख्यात क्रोेधकला शिरोमणि कालु कुमालेका छोरा स्व. वीरेन्द्रकुमार अवालेको स्मृतिमा निर्माण गरिएको बाघ भैरव मूर्ति हिजो ललितपुरको सिन्चाहितिमा एक कार्यक्रमका विच किर्तिपूरबासीलाई हस्तान्तरण गरिएको थियो । करिब २० जना कालिगढले एक वर्ष लगाएर ३ फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति निर्माण गरेको हो ।

कीर्तिपुर गुंदे दापा खलका २५० जनाको समुहले नेवारी परम्परागत भेषभूषा र सांस्कृतिक बाजा सहित ललितपुरमा मूर्ति लिन आएका थिए। ललितपुरबाट मूर्ति लगिएसँगै हिजै बाघभैरव मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको थियो। राजा शिवदेव तृतीयले बाघ भैरव मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ ।