दुर्गा प्रसाईं राति अस्पताल भर्ना ,रक्तचाप सम्बन्धी समस्या

मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्।

विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ।

ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो।

प्रसाईं हिजो भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन्। उनीविरुद्ध सामाजिक सञ्जालमा एक जना महिलाको चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको आरोप छ।

प्रहरीले उनीबिरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ।