श्रीलंकालाई हराउँदै नेपाल ,सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । नेपालले समूह चरणको ३ खेलबाट ७ अंक जोड्यो ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेल्दा दोश्रो खेलमा माल्दिभ्सविरुद्ध ११-० गोलको फराकिलो जित हासिल गरेको थियो।

यता पराजित श्रीलंका समान खेलमा ३ अंकसहित समूहको तेश्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरीएको छ ।

नेपालको जितमा रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान १-१ गोल गरिन् ।

खेलको आठौं मिनेटमा सविताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ११ औं मिनेटमा सावित्राले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार दोस्रो बारको टप कर्नरमा लाग्दै गोलमा परिणत हुँदा नेपाल २-० ले अघि रह्यो ।

लगत्तै अमिषा कार्कीले दिएको क्रसमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । ३२ औं मिनेटमा सावित्राले नेपालका लागि चौथो गोल गरिन् ।

दोस्रो हाफको शुरुवाती दोश्रो मिनेटमै अमिषा कार्कीले नेपालका लागि पाँचौ गोल गरिन् । त्यसपछि दोश्रो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई ६-० गोलको जित दिलाइन्।

समूह बी बाट भुटानले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह चरणको ३ खेलमा नेपाल र भुटानको समान अंक भएतापनि नेपाल गोल अन्तरका आधारमा भुटानलाई पछि पार्दै समूह विजेता बन्यो।

अब सेमिफाइनलमा नेपालले आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल साँझ ६:३० बजे शुरु हुनेछ।

आइतबार नै दिउँसो १:३० बाट शुरु हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता बंगलादेश र समूह बी को उपविजेता भुटानबीच प्रतिस्पर्धा हुनेछ ।