आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीको दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गरी यो पर्व मनाइँने गरिन्छ।
भक्तजनहरूले तुलसीको पूजा गर्दै भगवान विष्णुको विशेष आराधना गर्छन् र यसलाई विशेष पुण्य प्राप्त हुने दिनका रूपमा लिन्छन्। यस दिनलाई विष्णु भगवान् चार महिनाको योगनिद्राबाट जागृत हुने दिनका रूपमा समेत मानिन्छ ।
आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ । त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।
आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन् । यो पर्व मनाउँदा पापमोचन र पुण्य प्राप्ति हुने, स्वास्थ्य र रोग निवारण हुने साथै घरमा यमदूत पस्न नसक्ने धार्मिक विश्वास रहीआएको छ।
