अमेरिकाको न्युयोर्कमा न्हू दँया भिंतुना र्यालीको आयोजना

नेपाल सम्वतको नयाँ वर्ष ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा गएको नोभेम्बर २ तारिख शनिवारका दिन र्यालीको आयोजना गरिएको हो । न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रुपमा सगुन स्वरुप टीका, फूल र कोखा वितरण गरिएको थियो । नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव तुलसी नारायण चित्रकारले गर्नु भएको थियो । कार्यक्रममा नेवाः गुठीका अध्यक्ष विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो । उहाँले नेपाल सम्वतको महत्त्व र औचित्यको बारेमा जानकारी गराउनु भएको थियो ।

शंखधर साख्वाले तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी दिनु भयो । नेपाल जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष कृष्णा महर्जनले नेपाल सम्वत नेपाली सबैको सम्वत भएको बताउनु भयो ।

कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्हू दँया भिंतुना र्यालीको नाराको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत कसरी सञ्चालनमा आएको हो भन्ने जानकारी गराउँदै यसको महत्त्व भावी पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो ।

न्हू दँया भिंतुना र्याली सुरु भएको थियो जसमा सयौं जनाको सहभागिता थियो । शंखधर साख्वाको फोटो भएको व्यानर सहित विभिन्न प्लेकार्डका साथमा नेपाल सम्वत सम्बन्धि विभिन्न नारा लगाउँदै न्युर्योकको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो । तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा नेपाल सम्वतको नयाँ वर्षको पहिलो दिन पर्ने गरेको छ भने सो अवसरमा नियमित रुपमा नेपालसहित विभिन्न देशमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ।