संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले गत पुस २५ गते पक्राउ गरेको थियो। पक्राउ संगै जिल्ला अदालत मोरङले प्रहरीलाई पाँच दिन हिरासत राख्न अनुमति पनि दिएको थियो।
उनीमाथि एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप थियो ।
यस ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य पनि हुन् ।
तर यसै बीच प्रहरीले १२ दिनमै ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान सकेको छ। सामान्य मुद्दामा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले पोखरेलविरुद्धको आरोपमा भने १२ दिनमै अनुसन्धान सकेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार ठगी मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको र ‘दुवै पक्षसँग बुझियो, अनुसन्धान पछि मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका थिए।
स्वकीय सचिव पोखरेल अदालतमा उपस्थित हुनुभन्दा अघि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी लेखासमिति सभापति पोखरेलकी पत्नी अन्जला कोइराला प्रहरीमा हाजिर भएकी थिइन् । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा फरार रहेकी अन्जला २४ पुसमा अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि १० लाख धरौटीमा छुटेकी थिइन् । उनी छुटेको एक दिनपछि प्रहरीमा पुगेका पोखरेलका स्वकीय सचिव (आरोप लागेपछि जिम्मेवारीबाट हटाएको)लाई भने ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।
