काठमाडौ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन । जोगीका चार सम्प्रदाय सन्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्यासीअन्तर्गत पर्छन । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पत्ति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरी सम्रपदायका बाबाहरू आउने गर्छन् । अहिले महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यवस्थापनलाई तीव्रता दिएको छ । यसैविच काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यस वरपरका क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ । पशुपति क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने निषेध गरिएको हो ।
