पाङ्ग्रा बिनाको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौँ- बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।

जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ। उक्त जहाजमा ६२ यात्रु थिए।

अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको पाइएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको थाहा भएको छ।

युफोर ५०६ उडान नम्बर भएको उक्त एटिआर जहाजको पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाजका पाइलट तथा उडान दललाई उडानकै क्रममा पांग्रा खसेको कुनै जानकारी थिएन। न त उडानका क्रममा कुनै असामान्य गतिविधि नै महसुस गरिएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो।

पाङ्ग्रा नभए पनि जहाज सुरक्षित रूपमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो।