बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । बिहान ८:३३ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार आज शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ। अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।