राजावादीहरुले शक्ति प्रदर्शन,सुरक्षा व्यवस्था कडा

पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन्। पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपरान्ह काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन्।

पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ ।

सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’

सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ। पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।

यसैबीच, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ। झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको बताइएको छ।