विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २-१ ले पराजित गर्दै विश्वकप छनोटमा खस्किदो प्रदर्शनबाट केही राहत महसुस गरेको छ।
जितपछि पनि ब्राजिल छैटौं स्थानमा कायम छ। तर उसले चौंथो स्थानको इक्वेडर र पाँचौं स्थानको कोलम्बियासँगको अङ्क दुरी १ अङ्कमा झारेको छ।
खेलमा ब्राजिले कोलम्बिया विरुद्ध पेनाल्टी मार्फत छैटौं मिनेटमै अग्रता लिएको थियो। बार्सिलोनाका स्टार राफिन्होले पेनाल्टी मार्फत टिमलाई अग्रता दिलाएका थिए।
तर लुइस डियाजले ४१ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए। अधिकांस समय १-१ गोलको बराबरीमा सकिएको खेलमा इन्जुरी समयको नवौं मिनेटमा रियल म्याड्रिड स्टार भिनसियस जुनियरले राफिन्होको पासलाई सदुपयोग गर्दै टिमलाई महत्वपूर्ण तीन अङक् दिलाए।
त्यस्तै विश्वकप छनोट अन्तर्गत भएका अन्य खेलमा पाराग्वेले चिलीलाई १-० ले हरायो। पाराग्वेको जितमा ओमार अल्डरेटले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले ६० औं मिनेटमा टिमका लागि निर्णायक गोल गरेका छन्।
दक्षिण अमेरिकी छनोटमा शीर्ष ६ मा रहने टिमले विश्वकपमा सिंधै स्थान बनाउँदा सातौं स्थानमा रहेने टिमले अन्तरमहादेशीय ‘प्लेअफ’ को अवसर पाउने छ।
तालिकामा १२ खेलबाट अर्जेन्टिना २५ अङ्कका साथ शीर्ष स्थानमा रहँदा उरुग्वे २० अङ्कका साथ दोस्रो र पाराग्वे पनि समान २० अङ्कका साथ तेस्रो स्थानमा छन्। त्यस्तै इक्वेडर र कोलम्बियाको १९ अङ्कका साथ क्रमश चौंथो र पाँचौं स्थानमा रहँदा ब्राजिल १८ अङ्कका साथ छैटौं स्थानमा छ।
