आज विश्व क्षयरोग दिवस

काठमाडौँ । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।
दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।

क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन् । क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्दछ तर जिवाणुले शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।

यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हँुदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरुको भनाइ छ ।

विश्वमा प्रतिवर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् भने २० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै हरेक वर्ष ४४ हजारको हाराहारीमा नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने वर्षेनी ५ देखि ७ हजार नेपालीको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी हुने दर १ दशमलव ६ प्रतिशतले बढिरहेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार क्षयरोग पत्ता लागेका मध्ये अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशतभन्दा बढि फोक्सोको र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।