संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा सभा प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभा आयोजना हुने छ ।
कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुगेको छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो बोकेका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोेकेका छन् ।
साढे ११ बजेदेखि कार्यक्रम सुरु हुने भनिए पनि नेताहरू १ बजेतिर पुगेका छन् । यद्पि बल्खुमा खबरदारी सभामा सहभागी हुन बिहानैदेखि राजसंस्थापक्षधरहरू सहभागी भइरहेका थिए।
कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूले सम्वोधन गर्ने कार्यतालिका छ। चैत्र १५ गते तीनकुनेमा राजसंस्थापक्षधरले गरेको विरोध कार्यक्रम हिंसात्मक भएपछि आजको कार्यक्रम शान्तिपूर्ण हुने राप्रपाले बताएको छ।
राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको थियो। राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ ।
उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज काठमाडौंमा जुलुससहित सभा गर्दै छ ।
