हाजिर जमानीमा छुटे धवल शमशेर राणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको एसएसपी अधिकारीले बताए ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए ।