कांग्रेस पदाधिकारी बैठक आज, गृहमन्त्रीको बारे छलफल हुने

काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ।

बैठकमा क्रियाशील सदस्यता र नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने मुख्य कार्यसूची रहेको छ।

साथै, बैठकमा बजेट र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ। विशेषगरी, गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा लागेको संलग्नताको आरोप प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ। कांग्रेस अहिले आफ्नै दलबाट गृहमन्त्री रहेका लेखकमाथि लागेको आरोपका कारण अप्ठ्यारोमा परेको छ।

यस विषयमा कांग्रेसकै शीर्ष नेताहरूले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब दिइरहेका छन्। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सुनिल शर्माले भने, ‘रमेश लेखक जतिको आदर्शवान नेताले सदन खुल्न अघि राजीनामा दिएर ममाथि अनुसन्धान गर्नुस् भन्नुपर्छ र भन्नुहुन्छ जस्तो लाग्छ मलाई।’

यस घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गम्भीर रूपमा लिएको पार्टीका नेताहरूले जनाएका छन्। रास्वपाकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले यसलाई ‘भिजिट भिसा प्रकरण नभई मानव तस्करी’ को संज्ञा दिँदै उच्च तहको संलग्नताको आशंका व्यक्त गरेकी छन्।

यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको थियो।
तर, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका थिए।