काठमाडौं । भारतको प्रभावस्वरूप नेपालमा पनि पछिल्लो एक हप्तामा कम्तिमा पनि सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।
स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीले बताए ।
उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकै ठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयका अनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए । तर, यो नियमित प्रक्रिया भएको उनको भनाइ छ ।
‘डराइहाल्नुपर्ने स्थिति होइन, नियमित प्रक्रियाअन्तर्गत नै एक जनामा कोरोना देखिएको हो । अहिले छिमेकी राष्ट्र भारतमा कोरोना देखिएकाले नेपालमा पनि एक प्रकारको डर छ । तर, डराउनुपर्ने अवस्था छैन । नयाँ भेरियन्ट भनेर पुष्टि भइसकेको अवस्था होइन,’ उनले भने ।
