भोलि उपत्यका बन्द गर्ने राजसंस्था पक्षधरको घोषणा

काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु,’ समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै समितिले आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।