मल्लकालिन शास्त्रीय संगित महोत्सव आज हुँदै, आजका दिनलाई राष्ट्रिय संगित दिवसको रुपमा घोषणा गर्न माग

ललितपुर – ३८८ वर्ष अघि देखि निरन्तर रुपमा जेठ शुक्ल पुर्णिमाका दिन  संचालन भइरहेको शास्त्रीय संगित महोत्सव आज ललितपुरमा हुँदैछ। ३८८ वर्ष देखि अर्थात सिद्धिनरसिहं मल्लको पालादेखि आजको दिन, जेठ शुक्ल पुर्णिमाका दिन शास्त्रीय संगीत महोत्सव गर्ने चलन छ।

संगीत महोत्सवमा राजा सिद्धिनरसिहं मल्लले तयार गरेका राग मल्हारसहित ३१ वटा गीत गाउने गरिन्छ । ३८८ वर्ष अघि देखि निरन्तर रुपमा संगीत महोत्सव भइरहेकोले आजका दिनलाई राष्ट्रिय संगित दिवसको रुपमा घोषणा गर्नका लागि स्थानीयले माग गरेको छ।

आज संगित दिवसको रुपमा लिएर मंगलबजारमा दुई वटा सांगितिक कार्यक्रम हुन लागेको आयोजक मध्येका एक कार्तिक नाच संरक्षण समितिले जनाएकोे छ। कार्यक्रमको आयोजना समितिसहित ललितपुरका विभिन्न जातिय समाज, विभिन्न संघसंस्थाले गरेको छ । परम्परागत रुपमा निरन्तर रुपमा चलिरहेको सिद्धिनरसिहं मल्लका गीतहरुको प्रस्तुतीको कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ भने बेलुकी ५ बजेपछि पनि विभिन्न कलाकारहरुको सांगितिक कार्यक्रम हुनेछ।

आज संगित दिवसको रुपमा लिएर मंगलबजारमा मात्र नभएर बुंगमती, खोकना, किर्तिपुर, पोखरा, भक्तपुर, तानसेन, टोखा, दोलखा लगायतमा पनि सांगितिक कार्यक्रम हुन लागेको छ।

त्यस्तै आज नै मंगलबजारमा मल्लकालीन सिहांसन र परम्परागत पौभाको पनि प्रदर्शन गरिदैछ । हरेक वर्ष जेठ शुक्ल पुर्णिमाका दिन मंगलबजारमा राजा सिद्धिनरसिहं मल्लका छोरा श्रीनिवास मल्लको सिहांसन सहित पौभा प्रदर्शन गरिने चलन अनुसार आज दिउँसो प्रदर्शन गर्न लागिएकोे हो ।

साथै काठमाण्डौं उपत्यकाका नेवारहरुले आजका दिन अर्थात जेठ शुक्ल पुर्णिमाका दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछन् । पश्चिमेली परम्परामा जून २१ तारिखलाई सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

यसैबिच आज काभ्रेको पनौतिमा भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जात्रा हुँदैछ ।