विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः उपप्रमुख डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनीकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी छन् ।

संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्युनीकरणका लागि स्थानीय सरकारको भुमिका समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबीच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्युनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताएकी हुन् ।

उनले भनिन्,’स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नको लागि स्थानीय सरकारको एकदमै महत्वपूर्ण भुमिका हुन्छ । संविधानको भावनाअनुरुप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरुबीच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ । त्यसको एउटा उदारहण आजको कार्यक्रम हो । विपद्जन्य घटना हुनु अगावै दक्ष जनशक्ति तयार हुनु हामी सबैको आवश्यकता हो । विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्नेकुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्टाउट, रेडक्रस र महानगरबीचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’

सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए ।

साथै उनले पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यामा समेत बाढी र डुबानका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।