ललितपुर /जितेन्द्र महर्जन – ललितपुर महानगरपालिका वडा नं २९, हरिसिद्धिमा नवस्थापित “जलः आँखा तथा कान उपचार केन्द्र” को एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । सो उपचार केन्द्रको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख मेयर चिरीबाबु महर्जनले गर्नुभएको हो । साथै, उपचार केन्द्रको अवलोकन समेत गरिनुका साथै सेवा सञ्चालनको तयारी अवस्थाबारे जानकारी लिइएको थियो।
यो उपचार केन्द्र नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल, लहान, सिरहाको प्राविधिक सहयोगमा तथा वडा नं. २९ को समन्वयमा सञ्चालन गरिनेछ। साथै, सेवा सञ्चालनका लागि आवश्यक चिकित्सकीय उपकरण, सामग्री तथा विशेषज्ञ जनशक्ति अस्पतालले नै उपलब्ध गराएको छ ।
उद्घाटन कार्यक्रम वडा २९ का अध्यक्ष गणेश कुमार महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं २८ का अध्यक्ष बिरेन्द्र महर्जनले स्वागत मन्तव्य दिदै, यो उपचार केन्द्रको स्थापना ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले उपचार केन्द्रको दिगो सञ्चालनका लागि वडा नं। २८ को तर्फबाट पनि साथ र सहयोग रहने आश्वासन दिनुभयो।

प्रमुख अतिथि मेयर चिरीबाबु महर्जनले सम्बोधन गर्दै ललितपुर महानगरमा यस्तो उपचार सेवा स्थापना हुनु उल्लेखनीय र अनुकरणीय कार्य भएको बताउँदै, महानगरपालिकाले यस केन्द्रको दिगो र नियमित सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उपमेयर मञ्जली शाक्य बज्राचार्यले शुभकामना मन्तव्य दिँदै, उपचार केन्द्रमा अहिले साना शल्यक्रिया मात्र सम्भव भए पनि भविष्यमा ठूलो शल्यक्रिया पनि गरिने अवस्था सृजना होस् भन्ने आशा व्यक्त गर्नुभयो। उहाँले महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने स्पष्ट धारणा पनि दिनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्राले यस्तो सेवा काठमाडौं उपत्यकामा पनि विस्तार गर्नु संघको लागि गर्वको कुरा भएको बताउँदै, ललितपुर महानगरसँग सहकार्य अझ सशक्त बनाइने बताए।
नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा सिराहाका सभापति सन्तोष कुमार चौधरीले यस्तो सेवा विस्तारले समग्र दृष्टि स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. संजय सिंहले प्राविधिक र चिकित्सकीय पक्षमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै केन्द्रको सफलताको शुभकामना दिनुभयो।
सोही अस्पतालका कार्यकारी निर्देशक अभिषेक रोशनले पनि सम्बोधन गर्नुभयो। उहाँले ललितपुरमा सेवा विस्तार गर्न पाउनु हामी सबैका लागि खुसीको विषय हो भन्दै निकट भविष्यमै केन्द्रबाट ठूला शल्यक्रियाहरू पनि सञ्चालन गर्न सकिने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमका सभापति गणेश कुमार महर्जनले विशेष रूपमा जोड दिँदै भन्नुभयो, “यो सेवा वडा नं २८ र २९ हरिसिद्धिमा मात्र सीमित छैन, यो संपूर्ण ललितपुर महानगरपालिकाका बासिन्दाहरूका साथै छिमेकी नगरपालिकाका नागरिकहरूलाई समेत लक्षित गरी सञ्चालन गरिनेछ।” उहाँले बहुपक्षीय प्रयासपछि उपचार केन्द्र स्थापना सफल भएकोमा खुशी व्यक्त गर्दै सबै सहयोगीहरूलाई आभार प्रकट गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन भएको दिनदेखि नै सेवा औपचारिक रूपमा सुरु गरिएको छ।
