भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ ।
नगरपालिकाको १८ औँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी विनियोजित बजेटको चालू खर्चतर्फ एक अर्ब ५२ करोड ५३ लाख ११ हजार अर्थात् ६१ दशमलव ६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख अर्थात् ३२ दशमलव ५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५ दशमलव ७८ प्रतिशत बजेट छुट्याएको जानकारी दिइन्।
यसैगरी चालु आर्थिक वर्ष भक्तपुर नगरपालिकाको कूल बजेटमध्ये ७५ दशमलव ५७ प्रतिशत मात्र खर्च हुने जानकारी पनि नगरप्रमुख जोशीले दिइन्। भक्तपुर नगरपालिकाको चालु खर्चतर्फ रु एक अर्ब ५७ करोड तीन लाख १० हजार विनियोजन गरिएकामा २०८२ जेठ मसान्तसम्मको कूल चालु खर्च रु एक अर्ब छ करोड नौ लाख ४९ हजार रूपैयाँ अर्थात् ६७ दशमलव ५६ प्रतिशत भएकोे छ । असार मसान्तसम्ममा चालु खर्च बढेर रु एक अर्ब ३० करोड ८२ लाख ९२ हजार खर्च हुने संशोधित अनुमान गरिएको उपप्रमुख जोशीले बताइन् ।
