च्वबहाः गल्छि, न्हसिकापको दायाँबायाँको ढुंगा फुटाएर नदी फराकिलो बनाउने नेपाल सरकारको योजनाको विरोध गर्दै नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिका अध्यक्ष वीरेन्द्र महर्जनको हस्ताक्षर सहित प्रकाशित उक्त प्रेस विज्ञप्ति आइतबार सार्वजनिक भएको हो ।
आदिवासी नेवार समुदायको सभ्यता विकास भएको भूमि नेपाल उपत्यका अर्थात काठमाण्डौं उपत्यका हो भन्नु हुँदै आदिवासी नेवारहरुको ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै आफ्नै मूल्य मान्यता भएको च्वबहाःको न्हसिकाप अर्थात च्वबहाः गल्छी हो भनी प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिबाट जारी भएको प्रेस विज्ञप्तिमा भनिएको छ, “न्हसिकाप स्वयं ऐतिहासिक, सांस्कृतिकका साथै प्राकृतिक सम्पदाको रुपमा उभिएको छ । हजारौं वर्ष अघिदेखि काठमाण्डौं उपत्यकाको पानी निकास हुने एक मात्र क्षेत्र न्हसिकाप अर्थात च्वबहाः गल्छी हो ।
मञ्जुश्रीले काठमाण्डौं उपत्यकाको पानी निकासका निमित्त आफ्ना खड्गले छेडन गर्नुभएको मान्यता रहेको छ । न्हसिकापका साथै उक्त क्षेत्रमा उपत्यकाको चार गणेश मध्ये पहिलो गणेशको रुपमा लिइएको क्वयना गणेश अर्थात जल विनायकको मन्दिर र बासुकी नाग समेत विराजमान हुनुहुन्छ ।” न्हसिकापको साथै नेवार समुदायको मानव बस्ति समेत रहेको कुरा उल्लेख गर्दै सार्वजनिक भएको विज्ञप्तिमा एशियाको दोस्रो लामो गुफा चखुंति बखुंति मञ्जुश्री गुफा समेत च्वबहाः गल्छी क्षेत्रमा रहेको कुरा उल्लेख भएको छ । विज्ञप्तिमा भनिएको छ– “जीवन्त सम्पदाको केन्द्रविन्दु रहेको न्हसिकाप गल्छी हजारौं वर्षपछि यस अवस्थामा खडा भएको प्रकृतिद्वारा सिर्जित अभूतपूर्व सम्पदा हो । यस्ता अद्वितीय सम्पदा संसारको अन्य कुनै ठाउँमा पाइँदैन । यसलाई जस्तो छ उस्तै अवस्थामा संरक्षण गरी राख्नुपर्दछ ।”
विकासको नाममा नदीको बहाव क्षेत्र साँगुरो बनाई करिडोर निर्माण गरिएको, निर्धारित मापदण्डभित्र नदीलाई सीमित गरिएका कारण उपत्यकाको विभिन्न ठाउँमा डुबान भएको कुरा स्पष्ट भएको छ भनी विज्ञप्तिमा भनिएको छ । सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, “हजारौं वर्ष र शताब्दी अघिदेखि बाढी र डुबानको निमित्त गल्छी बाधक नभएको र हुन पनि नसक्ने भनी विविध तर्क राख्दै विभिन्न बहाना बनाई च्वबहाः गल्छीमा प्रभाव पर्ने गरी काम गर्ने तयारी भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
नेपालको संविधानले दिएको आदिबासीहरुको सांस्कृतिक अधिकार, सांस्कृतिक भूमिको संरक्षण संबर्द्धन गर्ने आदिबासी अधिकार, आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय नेपाल पक्ष राष्ट्र भएको सन्धी, महासन्धी, आइएलओ १६९, आदिवासी जनजाति मानव अधिकार सम्बन्धि घोषणा पत्र यूएनड्रीप, पूर्व सुसूचित जानकारी सहितको मञ्जुरीलाई समेत बेवास्ता गरी कुनै पनि बहाना बनाई कीर्तिपुर नगरपालिका वडा नं. ६ मा रहेको न्हसिकाप च्वबहाः गल्छीलाई प्रभाव पर्ने गरी काम गरिएमा त्यसलाई स्वीकार गर्न सकिँदैन भनी सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “यदि आदिवासी नेवार समुदायको भावना विपरित अनावश्यक काम गरिएमा त्यसबाट सृजना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय नै हुने भनी खवरदारी समेत गरेका छौं । जय नेवार आदिवासी ।”
