दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सरोजा देवीको पूरा नाम भैरप्पा सरोजा देवी थियो। सानै उमेरदेखि सिनेमामा रुचि राख्ने उनले आफ्नो प्रतिभाको बलमा भारतमा लोकप्रिय अभिनेत्री बन्ने अद्भुत यात्रा गरिन्।
१७ वर्षको उमेरमा सन् १९५५ मा रिलिज भएको कन्नड भाषाको फिल्म ‘महाकवि कालिदास’ बाट अभिनय करियर सुरु गरेकी थिइन्। त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन।
७० वर्षको फिल्म करियरमा २०० भन्दा बढी फिल्ममा काम गरिन्। सिनेमा जगतमा आफ्नो विशेष स्थान बनाएकी उनलाई भारतीय सिनेमाको आइकन पनि भनिन्थ्यो। फिल्म उद्योगमा उनको उत्कृष्ट योगदानको लागि पद्मश्री र पद्मभूषण जस्ता उत्कृष्ट राष्ट्रिय सम्मान प्रदान गरिएको थियो।
सरोजा देवीले दक्षिण सिनेमामा मात्र नभई हिन्दी फिल्म उद्योगमा पनि आफ्नो छाप छोडिन्। उनले दिग्गज अभिनेता दिलीप कुमारसँग फिल्म ‘पैगम’ मा मुख्य भूमिकामा काम गरिन्। साथै उनले प्यार किया तो डरना क्या, बेटी बेटी र सुसराज जस्ता बलिउड फिल्महरूमा पनि देखिएकी थिइन्।
सन् १९५५ देखि १९८४ सम्म उनले लगातार २९ वर्षमा मुख्य अभिनेत्रीको रूपमा १६१ फिल्म गर्ने रेकर्ड पनि बनाएकी थिइन्।
