फ्रेन्च क्लब छोडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनक्स’ मा अनुबन्धन भइन् साम्बा

नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारीले फ्रेन्च क्लब ग्वेंगाम्पबाट अलग भएकी छन्। उनले फ्रेन्च क्लब छाडेर न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनिक्स’ बाट ब्यवसायिक करिअर सुरु गर्न लागेकी हुन्।

कुरा गर्दै सावित्राले ‘ग्वेंगाम्प’ मा गरेको प्रदर्शन र त्यहाँ पाएको विश्वास र लगावलाई कायम राख्ने प्रयास गर्ने बताइन्। उनले भनिन्, ‘मेरो ग्वेंगाम्पमा अनुबन्धन सकिएसँगै निरन्तरता नदिने निर्णय गरेको हुँ। अब न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब वेलिंगटन फिनिक्सबाट व्यवसायिक करिअर अगाडी बढाउने छु।’ उनले उक्त क्लबले ब्यबसायिक लिग भने अस्ट्रेलियाबाट खेल्दै आएको बताइन्। उनले योबिचमा पाएको साथ र सहयोग आफ्नो प्रेरणा हुने भन्दै दर्शक र समर्थकबाट निरन्तर साथको अपेक्षा रहेको बताइन्।

साम्बाले सन् २०२५-२६ को सिजनका लागि अष्ट्रेलियाको ‘ए लिग’ खेल्ने न्युजिल्यान्डको शीर्ष क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ।

त्यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि क्लब छाड्ने समय आएको बताएकी थिइन्। उनले क्लब र समर्थकप्रति आभार व्यक्त गर्दै दुई वर्षको यात्रालाई आफ्नो करिअरका लागि महत्वपूर्ण भएको जानकारी दिएकी हुन्।

साम्बाले सामाजिक सञ्जालमा लेखिन्,‘पछिल्लो दुई वर्ष क्लबसँगको सहयकार्य अद्भुत भएको छ। हामीले दुई सिजनसँगै गरेको यो यात्राप्रति मलाई सदैव गर्व रहने छ। मेरो करिअरमा यो सहयोग र सद्भावको अर्थ ठूलो र गहिरो हुनेछ।’ उनले अगाडि लेखिन् ,’अब हामी नयाँ सुरुवातका लागि फरक-फरक बाटो तय गर्नेछौं। यो बिचमा क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहने छु। म जहाँ भएपनि मेरो समर्थन क्लबलाई निरन्तर रहेने छ।’

साम्बाले टोलीका लागि २ सिजन खेल्दा कुल ७ गोल गरेकी छन्।