गुंला पर्वको अवसरमा काठमाण्डौं भरिका शाक्य बहाः बही भित्रका संयुक्त धाःबाजा सांगीतिक शुभकामना लिनेदिने कार्यक्रम ने.सं. ११४५ गुंलाथ्वः अष्टमी, शनिबार (२०८२ श्रावण १७ गते) बिहान इतुंबहालमा हुने भएको छ ।
उक्त धाःबाजा प्रदर्शनमा केशचन्द्र गुंलाबाजं खलः, नःघः गुंला बाजं खलः, वँतु गुंला बाजं खलः, ओमबहाः गुंला बाजं खलः, क्वहिति गुंला बाज खलः, लगं गुंला बाजं खलः, चारुमति गुंला बाजं खलःले भाग लिने भएका छन् ।
समग्र बाँसुरीको तालमा यस संयुक्त धाःबाजं सांगीतिक शुभकामना लिनेदिने कार्यक्रम हुने कुरा केशचन्द्र गुंला बाजं खलःका ब्यवस्थापक सुजित मान शाक्यले भन्नुभएको छ । वहाँले यस कार्यक्रम सांगीतिक क्षेत्रका निम्ति एक पृथक प्रदर्शन हुने कार्यक्रम हो भन्नु भयो । यस संयुक्त धाःबाजा बजाउने कार्यक्रममा बाँसुरीको तालमा एकचोटी एक एक वटा बाजं खलःको अलग्ग अलग्ग बजाउने भएका छन् भने पछि फेरि सबै बाजं खलःहरु एकै ठाउँमा बसेर संयुक्त धाःबाजा प्रदर्शन गरिने भएका छन् । यस प्रदर्शनमा एक बाजं खलःबाट दश दश जनाले बाजा बजाउने भएका छन् ।
संयुक्त बाजा बजाउने कार्यक्रममा जम्मा ७० जनाले एकै तालमा बाजा बजाउने योजना बनाएका छन् । यस बाजा प्रदर्शनमा बाँसुरी, ताः, भुस्याः, छुस्याः, नाय्खिं बाजा पनि बजाउने भएका छन् । आजभोलि बाजं खलःमा युवा जमातले निकै अभिरुचिपूर्वक बाजा बजाउने कार्य अघि बढाएका छन् भने वहाँहरुलाई अझ बढी उत्साही बनाउन यस संयुक्त धाःबाजा प्रदर्शनले अझ टेवा दिने बिश्वास गरिएको छ । आफ्ना जातीय पहिचानका रुपमा समेत धाःबाजालाई लिने गरिएको छ भने यस बाजाको माध्यमबाट नै आआफूमा बहाःबहीका बिचमा सद्भाव बढाउने कार्य समेत भई आएको छ।
