अस्ट्रेलियामा आउँदो बुधवारदेखि शुरु हुने टप इण्ड टी–२० शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ । १४ सदस्यीय होबार्टको टोली आज घोषणा भएको हो ।
होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक समेत रहेका छन् । टोलीमा बिग बास लिग (बीबीएल) तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका क्रिकेटर छन् ।
नेपालले शृङ्खलाको चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग भदौ ३ गते खेल्नेछ । होबार्टको टोली घोषणा भएसँगै शृङ्खलाको समूह चरणमा नेपालले खेल्ने सबै पाँच टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको यस अघि घोषणा भइसकेको छ ।
नेपाल पहिलो पटक शृङ्खलामा सहभागी हुन लागेको हो । एनटीकोमा आयोजनामा हुने शृङ्खलामा ११ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ बीच खेल हुनेछ । लिग चरणको शीर्ष चारमा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल अगस्ट २४ अर्थात् भदौ ८ गते हुनेछ ।
