नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागको कलाकारलाई विशेष सम्मान

नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागले नेपाल आइडल सिजन ६ को फाइनल राउन्डसम्म पुगेर उत्कृष्ट पाँचमा स्थान हासिल गर्ने प्रतिभावान गायिका मृनल मानन्धरलाई नेपाल आइडलको बिजेता होस भनी शुभकामना दिएको छ। उक्त कार्यक्रममा ‘मेरो डान्स युनिभर्स–सिजन २’ को सेकेन्ड रनरअप सितु महर्जन र नेपाल आइडल सिजन ६ का चर्चित कलाकार गायक राज सायमीलाई विशेष सम्मान गरिएको थियो।

कालिमाटी स्थित दस पार्टी भेन्युमा भएको कार्यक्रममा परिषदका संयोजक सुमन सायमीले नेवा: समुदायको मातृभाषा नेपाल भाषामा आफ्नो कुरा राख्नुभयो र राष्ट्रिय मुक्ति पार्टी नेपालका प्रवक्ता तथा परिषदका नेता रबिन्द्र कुमार श्रेष्ठले नेवा: राष्ट्रिय परिषदको स्थापना, उद्देश्य र औचित्यबारे आफ्नो भनाइ राख्नु भएको थियो।

कार्यक्रममा दर्जनौं कलाकारहरूले विविध सांगीतिक प्रस्तुति दिएका थिए। यस अवसरमा परिषदका पदाधिकारीहरूले कला, संस्कृति र संगीतको प्रवर्द्धनमा योगदान दिने प्रतिभाहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।