नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ ।
दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।
दशैंको पूर्वसन्ध्यामा नै उपत्यकाको पाटन, मंगलबजार कालिमाटी असन लगायतका व्यापारिक केन्द्रहरुमा चंगा बेच्न भ्याइनभ्याइ छ ।
विगतका वर्षहरुको तुलनामा यस वर्ष चंगाको व्यापार बढेको व्यवसायी बताउँछन् । बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड लाग्न थालेको देखिन्छ ।
बजारमा चंगा किन्नेहरुको चहलपहल बढेको र व्यापार फस्टाएको व्यापारी संजय चौधरी बताउँछन् ।
उनले भने,‘हाम्रो पसलमा चाँही बजारमा रहेका प्रायः सबै चंगाहरु पाइन्छ ।
त्यस्तै उनले चंगाको विषयमा अनविज्ञ रहेकाहरु पनि चंगा किन्न आउने गरेको भन्दै पछिल्लो समय चंगा उडाउन सिक्न चाहनेहरुको संख्यामा पनि वृद्धि भएको धारणा राखे ।
