राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई सम्झना गरी विभिन्न स्थानमा वहाँको सालिक स्थापना गरिएका छन् भने वहाँलाई तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले राष्ट्रिय विभूति घोषणा गरिएको उक्त दिनलाई शंखधर दिवस भनी मनाउने परम्परा रही आएको छ । राष्ट्रिय विभूति शंखधर दिवस मनाउने क्रममा हरेक बर्ष वहाँको सालिकमा कछलाथ्वः दशमीका दिन माल्यार्पन गरी वहाँकी योगदानको सम्झना गरी चर्चा परिचर्चा गर्ने कार्य हुँदै आइरहेको छ ।
यस प्रकार माल्यार्पन गरी वहाँको सम्झनामा शंखधर दिवस मनाउने क्रममा नेपाल संबत् नव वर्ष राष्ट्रिय समारोह समितिबाट स्थानीय ऐतिहासिक लखुतीर्थमा अवस्थित सालिकमा माल्यार्पन गरी सभा आयोजना गर्दै आइरेकोमा प्रतिकूल मौसमका कारण यस बर्ष नव वर्ष समारोह समिति ११४६ बाट कछलाथ्वः दशमी अर्थात कार्तिक १४ गते शुक्रबारका दिन लखुतीर्थ नजिक जगत सुन्दर ब्वनेकुथिमा माल्यार्पन र सभाको आयोजना गरिएको छ । यस कार्यक्रममा कामपा १५ वडाका वडा अध्यक्ष इश्वरमान डंगोलले स्वागत मन्तब्य राख्नुभएको छ । कार्यक्रमका मुख्य अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले संबत्का विषयमा र नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले शंखधरको पक्षलाई समेटिएर आआफ्ना मन्तब्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा सभापतिको आसनबाट समारोह समिति ११४६ का अध्यक्ष सह प्रा. प्रेमहिरा तुलाधरले शंखधरका बारेमा र समितिबाट सञ्चालित कार्यहरु बारे भनाई राख्नुभएको थियो । नव वर्ष समारोह समिति ११४६ का सचिवालय सदस्य ज्योति रत्न शाक्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्तमा विष्णु चित्रकारले धन्यवाद मन्तब्य राख्नुभएको थियो । यस कार्यक्रममा बौद्ध विद्वान प्रा. डा. नरेश मान बज्राचार्य, राजेन्द्र प्रसाद श्रेष्ठ पनि अतिथिका रुपमा मञ्चमा उपस्थित हुनुहुन्थ्यो ।
यस कार्यक्रममा उपस्थित सबैले नेपाल संबतका प्रणेता शंखधर साख्वाःको सालिकमा फूल चढाई वहाँको गुणस्मरण गर्ने कार्य गरिएको छ । कार्यक्रममा मंगल रत्न ताम्राकार, यज्ञरत्न तुलाधर, सर्वज्ञ रत्न तुलाधर, ज्योति रत्न शाक्य, मनरत्न शाक्य, डा. ज्ञानेन्द्ररत्न तुलाधर, सुरेश किरण मानन्धर, नातिकाजी महर्जन, उमेश स्थापित, अमृत ताम्राकार, गोर्की श्रेष्ठ, विद्या चित्रकार, गणेश सायमि सहितले फूल अर्पण गर्नुभएका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका समेत उपस्थिति रहेका थिए ।
