काठमाडौँ । यस वर्ष सहिद स्मारक ए डिभिजन लिग फुटबल नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूबीच सोमबार लिग नगरेर राष्ट्रिय लिग खेलाउने सहमति भएपछि खेलाडीहरू चौतर्फी विरोधमा उत्रिएका छन् ।
एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै आगामी वर्षको पुस १ गतेबाट होम एण्ड अवेका आधारमा ए डिभिजन लिग सञ्चालन गर्ने र यस वर्ष पुस ९ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको जनाएको छ । बैठकमा अन्तिम पटक लिगमा शीर्ष ६ ए डिभिजन सहित अन्य क्लबहरूले पनि राष्ट्रिय लिग खेल्न सहमति जनाएका थिए ।
यसअघि कात्तिक १३ गते युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिसँगको छलफलपछि महासचिव किरण राईले क्लबहरू लिग खेल्न तयार नरहेको बताएका थिए । त्यसबेलादेखि नै सामाजिक सञ्जालमा एन्फाको व्यापक आलोचना हुँदै आएको छ ।
खेलाडीहरू विरोधमा उत्रिए
ए डिभिजन लि नहुने भएसँगै नेपाली खेलाडीले यो वर्ष पनि लिग खेल्न नपाउने भएका छन् । यस निर्णयको विरोधमा नेपाल फुटबल खेलाडी संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । संघका अध्यक्ष विक्रम लामाले खेलाडीलाई मारमा पारेर गरिने कुनै पनि सहमति आफूहरूलाई मान्य नहुने बताएका छन् । एन्फाको पछिल्लो निर्णयले लिग छिट्टै सञ्चालन गर्ने यसअघिका सबै पहललाई कमजोर बनाएको संघको भनाइ छ ।
राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले लिग नहुँदा खेलाडीहरू विदेश पलायन हुन बाध्य भएको अवस्थामा एन्फा मुखदर्शक बनेको आरोप लगाएका छन् । उनले लिगलाई थप नटार्न अनुरोध गर्दै भने, ‘ए डिभिजन लिग अझै कति पटक सर्ने हो ? खेलाडीहरू रहरले विदेश पलायन भएका होइनन् । लिगको प्रतीक्षामा रहेका अधिकांश खेलाडीहरू अन्ततः विदेशिन बाध्य हुने नै हुन् ।’ चन्दले नेपाली फुटबलमा अव्यवस्थित र दूरदृष्टिको अभावले लिग नहुने अवस्था आएको बताउँदै बी र सी डिभिजनका खेल पनि कहिले हुने भन्नेमा प्रश्न उठाएका छन् ।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले खेलाडीलाई नमार्न आग्रह गर्दै आफूलाई साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तानको ट्याग भारी भएको बताएका छन् । उनले लिग नहुँदा खेलाडीका सम्झौतामा असर पार्ने बताए ।
‘हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ,’ तामाङले भने, ‘लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौँ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरूलाई १० औँला जोडेर बिन्ती गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् ।’
त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले यो निर्णयले खेलाडीको मर्म र भावनामाथि खेलबाड गर्ने भन्दै सडक संघर्षमा उत्रिन समेत आफू पछि नपर्ने बताएका छन् ।
एक महिना नबित्दै क्लबहरूको अडान परिवर्तन
यस निर्णयसँगै ए डिभिजन क्लबहरूको एक महिनाअघिको अडानमा परिवर्तन आएको छ । असोज २५ गते ९ वटा ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै होम एण्ड अवेका आधारमा लिग हुनुपर्ने र अन्यथा एन्फाले आयोजना गर्ने सेन्ट्रल भेन्यु लिग पनि नखेल्ने घोषणा गरेका थिए । तर एक महिना नबित्दै उनीहरू राष्ट्रिय लिग खेल्न सहमत भएका हुन् । नेपाली क्लबहरू अझै व्यावसायिक बन्न नसकेकाले एन्फाले तयारी तथा सञ्चालन खर्च दिएपछि मात्र लिग खेल्न तयार हुने अवस्था छ ।
राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युवा क्लब, सातदोबाटो युवा क्लब र एनआरटीसहित ६ ए डिभिजन क्लबहरू सहभागी हुनेछन् । विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ पनि राष्ट्रिय लिगका लागि सहमत भएका छन् । बाँकी चार टोली एन्फा प्रेसिडेन्ट लिगबाट छनोट हुनेछन्, जुन हाल हेटौँडाको गौरीघाट रंगशालामा जारी छ ।
