काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताएका छन् । बैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा सो केन्द्रलाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।
उनले विन्ड इनर्जीको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको सम्भावनाको क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने मन्त्री घिसिङको योजना थियो ।
‘यो इनर्जी ईफिसेन्सीलाई इफेक्टिभ रुपमा कसरी अगाडि बढाउनुपर्छ भनेर एकदमै यसको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यस्तै गरेर इनर्जी ट्रान्जिक्सन विषय अहिले चार्जिङ स्टेशन ट्रान्सपोर्टेशनलाई इलेक्ट्रिफिकेशन गर्ने, कुकिङलाई इलेक्ट्रिीफिकेशेन गर्ने भनेर अहिले गाउँगाउँमा जुन ग्रिड पुगेको छ । यसलाई प्रयोग गरेर इन्डक्शन कुकिङहरुमा जाने भनेर हामी लागि राखेका छौ । त्यसमा विशेष ध्यान दिएर अगाडि बढ्नुपर्नेछ । किनभने हाम्रो डिमान्ड क्रियशन त्यहीबाट हुने हो,’ उनले भने,’हामी विद्युतमा कसरी रुपान्तरण हुन्छौँ भन्नेकुरा यो वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले विशेष ध्यान लिएर अगाडि बढ्नुपर्नेछ । चार्जिङ स्टेशनको केही पोलिसी रिफर्म गर्नुपर्नेछ । यो पनि हामी चाँडै अर्को बोर्डबाट हामी पास गर्दछौँ।’
त्यस अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै जर्मन सरकारप्रति पनि आभार व्यक्त गरे ।
