ह्वाइट हाउस जाँदै रोनाल्डो

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आगामी मंगलबार ह्वाइट हाउस जाने भएका छन्।

एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै बिबीसीले साउदी राजकुमार मोहम्मद बिन सलमानको भ्रमणकै बेला रोनाल्डो पनि अमेरिका पुग्न लागेका हुन्। तर उनी राजकुमार भ्रमण दलकै सदस्य हुन कि हैनन् भन्ने एकिन भएको छैन।

अहिले साउदी फुटबल लिगमा व्यस्त रहेका रोनाल्डो राजकुमार सलमानलेनै साउदी फुटबल विकासको आधुनिकरणको महत्त्वपूर्ण हिस्साका रुपमा रहँदै आएका छन्। साउदीका वास्तविक शासक मानिने क्राउन प्रिन्स देशलाई तेलमा मात्रै निर्भर नबनाएर खेलकुद, पर्यटनजस्ता क्षेत्रमा पनि विस्तार गर्न चाहन्छन्।

रोनाल्डो सन् २०१६ पछि अमेरिका गएका छैनन्। त्यसबीच रोनाल्डो एक यौन दुर्व्यवहारको आरोपमा पनि सामना गर्नु परेको थियो। क्याथ्रिन मायोर्गाले २००९ मा लस भेगासको होटल कोठामा रोनाल्डोले आफ्नो बलात्कार गरेको दाबी गरेकी थिइन्, तर रोनाल्डोले यो आरोपलाई अस्वीकार गरेका थिए।

‘मेरो विरुद्ध लगाइएका आरोपहरू पूर्ण रूपमा असत्य छन्। बलात्कार जस्तो अपराध अत्यन्त घृणित हुन्छ।’ उनले २०१८ मा जारी गरेको वक्तव्यमा भनेका थिए। २०१९ मा अमेरिकी अभियोजकहरूले यी दाबी प्रमाणित गर्न नसकिने भएकाले रोनाल्डोमाथि मुद्दा नचलाइने घोषणा गरेका थिए।

२०२३ को सुरुवातमा, रोनाल्डो साउदी अरब गए र साउदी प्रो लिगका मुख्य अनुहार बने। उनी अल नासर क्लबका कप्तान भए। यो क्लब साउदीको सार्वभौम ‘वेल्थ फन्ट’ पिआइएफको स्वामित्वमा छ, जसको अध्यक्ष नै क्राउन प्रिन्स सलमान रहेका छन्।

फुटबल खेलाडीहरूलाई अत्यधिक रकम दिइने उद्योगमा पनि रोनाल्डोको सम्झौता ‘अकल्पनीय’ मानियो। रिपोर्टअनुसार उनले साउदीबाट वार्षिक २० करोड डलर (१५२ करोड पाउन्ड) पाएका-अर्थात् दिनकै करिब पाँच लाख डलरभन्दा बढी कमाउने गर्छन्।

यस वर्ष जुनमा, उनले दुई वर्षका लागि थप ४० करोड डलर (३०० करोड पाउन्ड) को नयाँ सम्झौता गरे र ब्लूमबर्गका अनुसार करिब १.४ अर्ब डलर नेटवर्थसहित फुटबल इतिहासका पहिलो ‘अरबपति खेलाडी’ बनेका छन्।

४० वर्ष पुगेका रोनाल्डो अहिले पनि विश्वका सर्वाधिक मँहगो फुटबलरका रुपमा रहेका छन्। रोनाल्डोले एक अन्तर्वार्तामा क्राउन प्रिन्स मोहम्मदलाई ‘हाम्रो बोस’ भनेर सम्बोधन गरेका थिए। यसै महिना, उनी रियादमा पर्यटन मन्त्रालयको एक कार्यक्रममा देखिए, जहाँ उनले देशमा चलिरहेका विकास परियोजनाको प्रशंसा गरे र २०३४ को फिफा विश्वकप साउदीमा आयोजना हुने आशा व्यक्त गरे।

ट्रम्पसँगको सम्भावित भेटबारे वाकिल भन्छन्, ‘अमेरिकी राष्ट्रपति चम्किला चीज मन पराउँछन्, र रोनाल्डो पनि त्यस्तै चम्किलो पात्र हुन्।’ तर रोनाल्डोका भने वाशिङ्टन भेटका उद्देश्य अझ ठूलो रहेको र ‘विश्व शान्ति’ रहेको जनाएका छन्।

जुलाईमा, युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले ट्रम्पलाई रोनाल्डोले हस्ताक्षर गरेको पोर्चुगल जर्सी दिएका थिए, जसमा ‘राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई प्लेइङ फर पिस’ लेखिएको थियो।

राष्ट्रपति ट्रम्पले पहिले नै साउदी क्राउन प्रिन्सलाई ओभल अफिसमा स्वागत गरिसकेका छन् र आगामी भेट ह्वाइट हाउसको ईस्ट रूममा भव्य ‘ब्ल्याक टाई’ डिनरमा हुने छ। जहाँ रोनाल्डो पनि सहभागी हुने तयारीमा रहेको जनाइएको छ।

ह्वाइट हाउसले अतिथि सूचीबारे अझै केही जानकारी बाहिर ल्याएको छैन्। रिपोर्टअनुसार अमेरिकी ठूला कम्पनीका प्रमुख कार्यकारीहरू पनि त्यहाँ सहभागि हुने जनाइएको छ। जहाँ साउदीसँग आर्थिक सम्बन्धका बारेमा छलफल हुने जनाइएको छ।