जनकपुरधाम- सीताराम विवाहपञ्चमी महोत्सवमा भीड बढ्न थालेपछि मन्दिर वरिपरिको क्षेत्रमा गाडीलाई प्रवेशमा रोक लगाइएको छ । ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गुरु योजना तयार गरेको हो ।
धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार विवाहपञ्चमीमा ट्राफिक व्यवस्थापनको गुरु योजना तयार गरी १४० जना ट्राफिक जनशक्ति खटाइएको छ ।
उनका अनुसार मन्दिरको वरिपरिको निर्धारण गरिएको क्षेत्रमा गाडीलाई प्रवेश निषेध गरिएको छ । मोटरसाइकलको हकमा भने त्यस क्षेत्रमा घर भएका तथा होस्पिटल जानेहरुलाई व्यवहारीक रुपमा जान दिइने उनले बताए ।
परिक्रमा सडकभित्र जानकी मन्दिरको वरिपरि सवारी साधनलाई प्रवेश निषेध गरिएको छ भने जनकपुर प्रवेश गर्ने गाडीहरुका लागि पार्किङ्ग स्थल तोकिएको हो ।
प्रहरी निरीक्षक शााहीका अनुसार पूर्वतर्फ यदुकुहाबाट आउने सवारीसाधनहरुलाई पुल चौकको ५२ विघा, कप्लेश्वर तर्फबाट आउने सवारी साधनका लागि कप्लेश्वर चौकी नजिकको चौरमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
यस्तै, पश्चिम तर्फ महोत्तरीको बलवा बिसपिट्टी तर्फबाट आउने सवारी साधनहरुलाई बलवा चौकीको छेउमा, आँखा अस्पताल अगाडि अग्नी कुण्डमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
दिक्षणतर्फ जलेश्वरबाट आउने सवारी साधनहरुलाई नयाँ बस पार्कदेखि विन्हीसम्म र बिन्ही ६ लेन सडकमा पार्किङ्गको लागि ठाउँ छुट्याइएको छ भने जटहीबाट आउने सवारी साधनलाई ६ लेनमै व्यवस्था गरिएको छ । उत्तरबाट आउने सवारी साधनहरुलाई मुजेलियाको कवडहलको प्राङ्गनमा पार्किङ्गका लागि ठाउँ छु्ट्याइएको छ ।
एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटको विधि गरिने छ भने भोली मुख्यदिन स्वम्वर तथा वैवाहिक कार्यक्रम रहेको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यो वर्ष करिब १० लाख श्रद्धालुभक्तजन आउने अनुमान गरिएको हो ।
विवाह हेर्न नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालुभक्तजनहरु ऋाउन थालेपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
