काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता महादेव पन्थले बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको जानकारी दिए।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। उनले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गरे।
उनले भने, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो। मंगलबारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ। आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरुको संख्या १३२ हो।’
प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए।
