कप्तानी गुमाएपछि अनिल साहले भेट्टाए फर्म, जनकपुरको झिनो आशा जीवित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा खराब प्रदर्शन गरिरहेको साविक विजेता जनकपुर बोल्ट्सले पाचौं म्याचमा आइपुगेर पहिलो जित दर्ता गर्‍यो । उक्त टिमका साविक कप्तान अनिलकुमार साहले पनि आफ्नो गुमेको फर्म फर्काएका छन् ।

चितवन राइनोजलाई ६ विकेटले सहजै हराएर जनकपुरले प्रतियोगितामा दुई अंक जोडेको हो । प्लेअफबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई आजको जितले झिनो आशा जगाएको छ । साथमा अनिलकुमार साहको प्रदर्शन टिमका लागि अर्को सुखद समाचार बनेको छ ।

सुरुवाती तीन म्याचमा साहको ब्याट मौन बसिरहेको थियो । काठमाडौं विरुद्धको पहिलो म्याचमा डकआउट भएका उनी दोस्रोमा विराटनगरविरुद्ध ४ रन जोडेर आउट भए । तेस्रोमा पनि पोखराविरुद्ध १ रनमै पेभिलियन फर्किए । तीन म्याचमा ५ रन मात्रै जोडेपछि चौंथोमा उनलाई टिमबाटै ड्रप गरियो ।

यो निर्णय थियो प्रशिक्षक शिवनारायण चन्द्रपलको । कुनै पनि टिमबाट कप्तानलाई नै ड्रप गरिनु असहज र कठिन अवस्था हो । यद्यपि, फ्रेन्चाइज क्रिकेटमा यदाकदा यस्तो परिस्थितिहरु आउँछन् । प्रशिक्षक चन्द्रपलले चौंथो म्याचमा साहको ठाउँमा दक्षिण अफ्रिकी भेट्रान खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पिए । तर, फेरि पनि जनकपुरको भाग्य बदलिएन ।

सुदुरपश्चिमविरुद्धको म्याचमा जनकपुरले कडा चुनौती पेश गर्न सकेन । जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदुरपश्चिमले १७.४ ओभरमा भेट्टाएको थियो । लगातार चौंथो हारसँगै जनकपुर बोल्ट्स प्रतियोगिताको समूह चरणबाटै बाहिरिने जोखिम बढ्यो ।

पाचौं म्याचमा आएर प्रशिक्षक चन्द्रपलले फेरि अनिल साहलाई प्लेइङ ११ मा फर्काए । टिममा फर्किए पनि साहको कप्तानी भने फर्किएन । पार्नेलकै कप्तानीमा साहले खेले र उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच भए ।

पहिलो ब्याटिङ गर्दै चितवनले १७६ रनको मजबुत स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा जनकपुरले आगो ओकल्यो । ‘मरता क्या नही करता’ भनेझैं जनकपुरका ब्याटरहरुले सुरुबाटै खुलेर खेले । पाकिस्तानी ओपनर माज सदाकत र असिफ शेखले ५.१ ओभरमा ४५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ १८ रनमा आउट भएपछि तेस्रो नम्बरमा आए अनिल । उनले सदाकतसँग म्याच विनिङ पार्टनरसीप गरे ।

आफ्नो खराब फर्म बिर्सेर अनिलले सुरुबाटै विष्फोटक अन्दाज देखाएका थिए । आफूले सामना गरेको पहिलो पाँच बलमा दुई छक्का र एक चौकासहित १८ रन जोडे र त्यसपछि फर्केर हेरेनन् । १५.३ ओभरमा सोहल तनवीरले अनिलको विकेट लिए, जतिबेला उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन जोडिसकेका थिए । उनी आउट हुँदा जनकपुर जितनजिक पुगिसकेको थियो । १५ बल बाँकी छँदै जनकपुरले लक्ष्य भेट्यो ।

जनकपुरले अब समूह चरणमा दुई म्याच मात्रै खेल्न बाँकी छ । ती दुवैमा जितेर पनि जनकपुरको प्लेअफमा स्थान सुरक्षित हुँदैन । अन्य टिमको नतिजामा पनि भर पर्नुपर्छ । जे भए पनि झिनो आशा जीवित छ । आज पनि हारेको भए सम्भावना समाप्त हुन्थ्यो ।

अनिल साहले कप्तानी भने गुमाएका छन् । जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा कप्तान परिवर्तनको निर्णय म्यानेजमेन्टले नभएर प्रशिक्षकले लिएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘प्रशिक्षकले टिमको हितमा निर्णय लिनुभएको हो । यसलाई ठूलो विषय मान्नु पर्दैन ।’

अनिल साहले आफ्नो फर्म भेट्टाउनु टिमका लागि सुखद भएको खतिवडा बताउँछन् । यद्यपि, टिममा पटक पटक कप्तान अदलबदल गरिरहनु राम्रो नहुने उनको भनाइ छ ।

‘अबका म्याचमा पनि पार्नेलले नै कप्तानी गर्नुहुनेछ,’ उनले भने ।