‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुँदै छ । महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि र ३०९ जना पर्यवेक्षक सहभागी हुँदै छन् भने १० हजार स्वयंसेवक परिचालन हुने एमालेले जनाएको छ। भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् ।
हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
कुनै पनि अप्रीय घटना हुन नदिन नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुरहरू सहितको टोली परिचालन गरेको छ। भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोह स्थलमा प्रहरीले प्रमुख स्थानहरूमा कुकुर डुलाएर सघन जाँच गरेको छ।
बम डिटेक्टर उपकरण र विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउन सक्ने विशेष कुकुरहरू सहितको प्रहरी टोलीले समारोह स्थललाई जाँच गरेको हो।
